यसकारण बझाङलाई भूकम्पले हल्लाउँदैछ/पश्चिममा ठूलो भूकम्प आउन सक्ने दाबी
4:27 AM![]() |
सुर्खेतः सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् ।
बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बभाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
गोरखामा गएको भूकम्पको पराकम्पन नभई बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।
लगातार भूकम्पका धक्काहरु महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
‘बुधबार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महशुस भएका छन्’ महर्जनले भने,‘भविष्यवाणी गर्न त सकिँदैन, तर कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्छ । लगातार पराकम्पन हुनु पनि यसैको संकेत हो, पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’
करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । गोरखा र बझाङको भूधरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।
![]() |

0 comments