कक्षा ५ मा पढ्नेले चिन्दैनन् अक्षर
8:09 AM![]() |
रौतहटका जिल्ला शिक्षा अधिकारी हरि वस्ती विद्यालय अनुगमनका क्रममा चन्द्रपुर नगरपालिका १४ स्थित श्रीकृष्ण मावि वालचनपुर पुगे। कक्षा ४ मा पढ्ने विद्यार्थीलाई किताब पढ्न लगाए तर ती विद्यार्थीले किताबमा लेखिएको अक्षर पढ्न सकेनन्।
वस्तीले विद्यार्थीले अक्षर नचिनेको बारे विद्यालयका सहायक प्रधानाध्यापक हेमनारायण चौधरीलाई सोधे। जबाफ आयो, ‘वार्षिक परीक्षामा फेल गर्न पाइँदैन। त्यसैले कमजोर विद्यार्थीलाई पनि माथिल्लो कक्षामा लैजानुपर्ने बाध्यता छ।'
यो एउटा उदाहरणमात्र हो। रौतहटका धेरैजसो सरकारी विद्यालयमा पढ्ने प्राथमिक तहका हजारौं विद्यार्थीले अक्षर चिनेका छैनन्। कक्षा ५ मा पुगिसक्दा पनि विद्यार्थीलाई नामसमेत लेख्न आउँदैन। कक्षा १ देखि ३ सम्मका ७० प्रतिशत र कक्षा ४ र ५ मा अध्ययनरत ४० प्रतिशत विद्यार्थीले अक्षर नचिनेको जिल्ला शिक्षा कार्यालयको अनुमान छ।
विद्यार्थीले कक्षा १ मा नै अक्षर र अंक चिनिसक्नुपर्ने हो तर प्राथमिक तह पूरा गर्दा पनि कखरा चिन्न सकेका छैनन्। गाउँका विद्यालयमात्र होइन, बजार क्षेत्रका विद्यालयमा पढ्ने विद्यार्थीको समस्या पनि उस्तै रहेको शिक्षा कार्यालयको भनाइ छ। कक्षा ४ र ५ मा पढ्दै गरेका विद्यार्थीले आफ्नो नाम, विद्यालयको नाम र आफू बसेको ठाउँको नामसम्म लेख्न जान्दैनन्।
![]() |

0 comments