दार्चुला, १७ असार । बुधबार रातिदेखी परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी दार्चुलामा २ महिलाको मृत्यु भएको छ भने १ पुरुष वेपत्ता भएका छन् । घर माथिबाट पहिरो आउँदा छुट्टा छुट्टै ठाउँमा महिला पुरुष वेपत्ता भएका हुन् ।
पहिरो आउँदा मालिकार्जुन गाविस वडा ८ का अन्दाजी २५ वर्षिया वसन्ती धामीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुशिलसिह राठौरले जानकारी दिए । मृतक धामीको शवलाई दुई घण्टा लगाएर निकालिएको छ । यस्तै मृतका पति शेरसिह धामी घाइते भएका छन् । चार जनाको परिवार रहेको धामीको पूरै घर पुरिएको छ ।
यस्तै अपी नगरपालीका वडा १७ काकडामा पहिरोले घर पुरीदा भागरथी महराको ज्यान गएको छ । उनको पुरै घर बगाएको हो ।
यस्तै सर्मोली गाविस वडा नं ४ का ७२ वर्षिय चन्द्रदेव पन्त घरभित्र च्यापिएका छन् । उक्त स्थानमा प्रहरी अझै पुग्न सकेको छैन । प्रहरी पुग्न २ घण्टा बढि समय लाग्ने बताइएको छ । यसै गरी पहिरोकै कारण भारतसँग सिमानाका जोडिएको जौैलजिवी प्रहरी चौकी भवन समेत पहिरोको उच्च जोखीममा रहेको छ । प्रहरी चौकी माथि बाट पहिरो आउन सुरु भएपछि उक्त प्रहरी चौकीमा कार्यरत प्रहरी तथा वन्दोवस्तीका समान सुरक्षीत स्थानमा सारिएको छ । जौलजीवि गाउँ नै जोखिममा परेपछि बस्तीका स्थानीयलाई भारतीय बजार जौलजीवि सार्ने तयारी भएको छ ।
सुरक्षा प्रमुखहरुको बैठकले एक महिनादेखि बन्द रहेको जौलजीवि पूल खोलाउन लगाई स्थानीयलाई भारतीय बजारमा उद्धार गर्न टोली परिचालन गरेको छ । पूल खुलाउनको लागि भारतीय पक्षसँग कुराकानी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए । नेपालतिरको बाटो अवरुद्ध र जौलजीविका स्थानीयलाई सुरक्षित ठाउँ जान बाटो छैन । एक दुई जनाको दरले भएपनि पूलमार्फत सुरक्षित स्थानमा राख्ने तयारी भएको हो ।
पहिरोकै कारण डाडाकोट गाविस वडा नं ८ लिमेतीमा स्थानीय भुवन पालको घर पुरीएको छ भने नजिकै रहेको सुन शिखर निमावि भवन पहिरोको उच्च जोखीममा रहेको प्रहरीले जनाएको छ । यसैगरी रिठाचौपाताको ५ घर जोखिममा रहेका छन् । प्रहरीले भने दुई तिन वस्ती नै जोखिममा रहेको बताएको छ । यस्तै सोही गाविसमा रहेको अमकुर लघु जलविद्युत बाढिले पूरिएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार अपि नगरपालिकाको धाप, दत्तु, भगवती, हुनैनाथ, ग्वानी, सर्मौली, गोकुलेश्वर, मालिकार्जुन, डाडाकोट, रिठाचौपाता, उकु लगायतका गाविसहरु जोखिममा परेका छन् । बैठकले तत्काल सबै क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । यसैगरी उद्धारमा कमी हुन नदिन सुरक्षा नीति अपनाइएको छ ।
यस्तै वर्षाले महाकाली लोकमार्गमाको अपि नगरपालिका १७ काकडामा रहेको पूल बगाएको छ । प्रमुख पूल बगाउँदा यातायातका साधन ठप्पछन् । मोटरेबल पूल बगाउँदा सुरक्षाकर्मी पारी पट्टी जान नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुई वर्ष अघि निर्माण भएको पूल बगाएको हो । पूल छेउमै पार्किङमा राखिएको से १ ज ३१२ नम्बरको जीप समेत बगाएको छ । उक्त क्षेत्रमा रहेका ४ वटा पसल बगाएको स्थानीय दिनेशराज जोशीले जानकारी दिए ।
उकु गाविसको पन्तोली क्षेत्रमा खेतबारी बगाएको छ । जिल्लाभरीको क्षति विवरण अझै आउन सकेको छैन । फोन सम्पर्कमा आएको समस्याले क्षति विवरण आउन नसकेको प्रहरीले जनाएको छ । यसैबीच अहिले साढे ११ बजे जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बोलाइएको छ ।
- 11:07 PM
- 0 Comments